जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १९:३०

केन्यामाथि नेपालको जित


काठमाडौं, १२ भदौ । घरेलु टोली केन्याले तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा पराजय व्यहोरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालसंग केन्या ४ विकेटले पराजित भएको हो।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच चुनिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।

रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २–२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १–१ विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।