जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार २०:५४

गो ब्याक म्याक्रोन भन्दै अल्जेरियामा फ्रान्सेली राष्ट्रपतिमाथि दुर्ब्यवहार


एजेन्सी, १२ भदौ । अल्जेरियाको ऐतिहासिक भ्रमणमा आएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई दुर्ब्यवहार भएको छ । भीडले गो ब्याक म्याक्रोनभन्दै चर्को नारावाजी गरेको समाचारमा जनाइएको छ ।

अल्जेरिया भ्रमणमा आएका इमानुएल म्याक्रोनलाई केही उछृंखलहरूले दुर्व्यवहारसमेत गरेका छन् । अहिले यो घटनाको भिडियो भाइरल भइरहेको छ । अल्जेरिया लामो समयदेखि फ्रान्सको उपनिवेश रहेको थियो। यस अवधिमा अल्जेरियालीहरूले फ्रान्सेली सेनाको दमनबाट धेरै खेप्नु परेको थियो ।

अल्जेरियाली नागरिकमाथि उपनिवेशको समयमा भएका अत्याचारका लागि फ्रान्सले अहिलेसम्म माफी नमागेको भन्दै मानिसहरू आक्रोशित छन्।

भिडियोमा के देखाइएको छ
भिडियोमा इमानुएल म्याक्रोनलाई ओरान सहरका मानिसहरूको बीचमा देख्न सकिन्छ। उनी कारबाट ओर्लिएर मानिसहरूलाई अभिवादन गरिरहेको देखिन्छ। ओरान सहरमा भेला भएका मानिसले हात मिलाउँदै उनले म्याक्रोनलाई धन्यवाद दिए।

तर, भीडले यस अवधिमा सकारात्मक प्रतिक्रिया देखाएन। फ्रान्सइन्फो सञ्जालका अनुसार केही व्यक्तिले इमानुएल म्याक्रोनलाई त्यहाँबाट हट्नका लागि नारा लगाएका थिए। मानिसहरूले ‘यहाँबाट गइहाल’ , ‘फ्रान्सले हामीलाई खायो’ जस्ता नारा लगाएका थिए।

फ्रान्सेली राष्ट्रपतिको अगाडि भएको प्रदर्शन देखेर उनका सुरक्षाकर्मीको डराएका थिए । हतारमा सुरक्षाकर्मीले म्याक्रोनलाई कारमा बस्न लगाए ।

गत वर्ष म्याक्रोनको भनाइबाट मानिसहरु आक्रोशित छन्
गत वर्ष इमानुएल म्याक्रोनको बयानपछि अल्जेरिया र फ्रान्सबीच तनाव बढेको थियो। उनले १७ अक्टोबर १९७१ मा अल्जेरियामा फ्रान्सेली सेनाले गरेको दमनको निन्दा र माफी माग्न अस्वीकार गरेका थिए।

म्याक्रोनले फ्रान्सेली उपनिवेश हुनुअघि अल्जेरिया नामको कुनै देश थिएन भन्ने बताएका थिए । उनको भनाइले अल्जेरियामा व्यापक प्रतिक्रिया ल्याएको थियो । अल्जेरियाले फ्रान्सबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो र फ्रान्सेली विमानहरूलाई आफ्नो देशमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।

अल्जेरियामा फ्रान्सेली नरसंहारको घटना
१७ अक्टोबर १९७१ मा, लगभग ३० हजार अल्जेरियनहरूले फ्रान्सेली उपनिवेश विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए। यो प्रदर्शन दवाउन फ्रान्सले १० हजार सैनिक तैनाथ गरेको थियो । प्रदर्शनकारीहरू घटनास्थलमा भेला हुनेबित्तिकै फ्रान्सेली सेनाले यसलाई कर्फ्यूको उल्लङ्घन मान्दै गोली चलाएको थियो।

यस घटनामा २०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको थियो भने ११ हजारभन्दा बढी घाइते भएका थिए । तर, फ्रान्स सरकारले तीन जनाको मात्रै मृत्यु भएको स्वीकार गरेको छ ।

फ्रान्सेली सरकारले घटनालाई स्थानीय कमाण्डरहरूको सहमति बिना गरिएको कारवाहीको नतिजा भएको भन्दै घटनालाई अस्वीकार गरेको छ। यो घटनाको एक वर्षपछि मात्रै फ्रान्सले अल्जेरियाबाट झिटी गुण्टा बोकेर हिड्नु परेको थियो ।