जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १५:२६

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टमबाटै दिए सांसदबाट राजीनामा


काठमाडौं, भदौ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिनुभएको छ । आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै लिङलेनले राजीनामा दिनुभएको हो ।

‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस,’ राजीनामा दिँदै लिङदेनले भन्नुभयो । संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको उहाँको भनाई छ ।

पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उहाँले बताउनु भयो । सबै दलका सदस्यबाट स्नेह र सद्धभाव प्राप्त गरेको उहाँको भनाई छ। अध्यक्ष लिङ्देनले काठमाडौंमा आज बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो घोषणा गर्नुभएको थियो ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब संसदबाट तलबभत्ता नलिने गरी सांसद पद छाड्ने घोषणा लिङदेनले गर्नुभएको हो । संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उहाँको भनाइ छ ।

त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अबको निर्वाचनमा जनताले नयाँ विकल्पका लागि राप्रपालाई रोज्ने दावी गर्नुभएको छ । अध्यक्ष लिङदेनले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा पनि राख्नुभएको छ ।

बैठकमा उहाँले आगामी निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरैभन्दा धेरै सिट जित्ने गरी तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।