जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १६:१३

रामकुमारीको गृहजिल्ला गुल्मीमै सकियो नेकपा एस, सिंगो जिल्ला कमिटी एमालेमा समाहित


जिल्ला इन्चार्ज र अध्यक्षसहित दर्जनौं नेता एमालेमै फर्किए

गुल्मी, भदौ २० । माधव नेपाल अध्यक्ष र रामकुमारी झाँक्री सचिव रहेको नेकपा एकीकृत समाजवादी गुल्मीमा सकिएको छ । माधव नेपालले भ्रममा पारेर एमाले नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा बिलय गराउने योजना बनाएको तथ्य बाहिर आएको भन्दै गुल्मीमा एमाले र एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा गरिएको छ ।

एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा आज पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको बताउनु भयो । भण्डारीले एमालेभित्रका केही मुद्दामा हिजो असहमति जनाएर अलग भएको एकीकृत समाजवादीले एमसिसी, नागरिकता विधेयक, वामपन्थी एकता र उपलब्धिलाई बेवास्ता गर्न थालेपछि एमालेमा पुनः समाहित भएको प्रतिक्रिया दिनुभयो ।

‘मैले एमालेबाट विद्रोह गरेर स्थानीय तहको चुनावमा आफ्नै सहयोद्धालाई पराजित गराउनुबाहेको उपलब्धि केही भएन । नेतृत्वको बेइमानीले विद्रोहको उद्देश्य पूरा भएन,’ भण्डारीले भन्नुभयो, ‘टुटेको अभियान र मन जोडेर एमालेलाई बलियो बनाउने प्रतिबद्धता जनाउँछु ।’ एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले वामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताउनु भयो ।

एकीकृत समाजवादीका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदीप घिमिरेलगायतका एक दर्जनभन्दा बढी नेता एमालेमै फर्किनु भएको छ । स्वागत तथा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै एमाले सचिव विष्टले जिवन्त पार्टीभित्र अन्तर्विरोध स्वाभाविक भएकाले गुल्मीबाट सुरु भएको अभियान निकै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले एमालेभित्रको अन्तरद्वन्दलाई बाह्य शक्तिले समेत मलजल गरेकाले केही नेताहरूले नयाँ पार्टी स्थापना गरेको तथ्यसमेत उजागर गर्नुभयो ।

त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई पार्टीबीचको एकताले देशभरका वामपन्थीलाई एकताबद्ध बन्न प्रेरणा थपेको बताउनु भयो । विद्रोहबाट जन्मिएको पार्टीलाई एकताको तहमा पुर्याउने निर्णय गर्न निकै चुनौती भए पनि हिजोको विद्रोहले एमालेलाई बेफाइदाभन्दा कांग्रेसलाई फाइदा पुग्न थालेपछि आन्दोलनको रूपान्तरणका लागि एकीकृत समाजवादीको जिल्लाकै नेतृत्व एमालेमा समाहित हुनु निकै सुखद विषय भएको प्रतिक्रिया दिनुभयो ।