काठमाडौं, २२ भदौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनबाट कांग्रेसले कति सिट पाउँछ, टुंगो लागिसकेको छैन । १०० सिटमा कांग्रेसले दाबी गरिरहेको छ । डा. शेखर कोइराला समूह १०० भन्दा घट्ने पक्षमा छैन । सोमबार सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठकमा कांग्रेसले १०० सिटबाट बढाएर १२५ पुर्याएको दाबी आए ।
मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावमा तालमेल गरेर जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्न थालेको टिप्पणी गर्नुभएको छ । नेपालको भनाइले गठबन्धनमा कांग्रेसले बढी दाबी गरेको संकेत गर्छ । कांग्रेसको दाबीमा गठबन्धनका अन्य दल पनि सहमत छैनन् ।कांग्रेसको संस्थापनलाई सघाएका वरिष्ठ नेता रामचन्द्र पौडेलले ९० भन्दा तल भर्न नहुने अडान शीर्ष नेता र कार्यदलको बैठकमा राख्दै आउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा भने ८६ सिट पाए मान्ने पक्षमा हुनुहुन्छ ।
शेखर समूह कांग्रेसले पाउने सिटमा पनि ६०–४० को भागवण्डा हुनुपर्ने लबिङमा छ । कांग्रेसमा भागवण्डाको त्यो रीति आफूले पार्टीको कमाण्ड नपाउँदा देउवा स्वयम्ले बसाउनुभएको थियो । अहिले संस्थापनइतर समूह देउवालाई त्यही कुरा सम्झाउन चाहन्छ ।देउवाले फरक मतलाई समेटेर कसरी अघि बढ्छन् त्यसमा पार्टीको भविष्य निर्भर रहने चेतावनी इतर समूहले दिएको छ ।
‘गठबन्धनको वैशाखी चढेर पार्टीभित्रको एउटा समूहको मात्र सभापति हुन खोज्नुभयो भने त्यसले गम्भीर दुष्परिणाम दिन सक्छ भनेर उहाँकै अगाडि भनेको छु,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले संचारकर्मीसंग् भन्नुभाये , ‘सभापतिको नेतृत्वमा चुनाव सफल होस् भन्ने चाहन्छौँ बलजफ्ति नै गर्न खोजियो भने यस्तो परिस्थिति निर्माण हुन सक्छ ।’देउवाले आफूहरूलाई सम्मानजनक हैसियत नदिए चुनावमा आफूहरू कोही पनि सहभागी नहुनेसम्मको अवस्था आउन सक्ने केसी बताउनुहुन्छ । ‘ल‘ तपाईंहरूले नै चुनाव लड्नुस्, हामी कतै कोही पनि सहभागी हुन्नौँ भन्ने अवस्था आउँछ । सम्मान भएन भने समर्पण हुँदैन,’ केसीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्