काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले दसैं, तिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिनुभयो ।
बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा सुकिला नोट उपलब्ध गराउनेछ । यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जानेछ । सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् ।
एक पटकमा व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहोर्याएर साट्न आउनेलाई कुनै रोकतोक नहुने बताइएको छ । यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सक्ने बताइएको छ । सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् ।













प्रतिक्रिया दिनुहोस्