जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार १५:११

सबै नागरिक अनुशासित र संस्कारयुक्त हुन आवश्यक छ : राष्ट्रपति भण्डारी


काठमाडौं, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को उद्‌घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको हो ।

उहाँले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताउनुभयो । अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने राष्ट्रपतिको जोड थियो । राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरू निर्माण हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ। यसकालागि सुपठित हुनु पहिलो शर्त हो। अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ। त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन् ।’

उहाँले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरूसँगको साक्षात्कारबाट पनि हुने बताउनुभयो । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उहाँको भनाई छ ।

‘समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो। सभ्यताको समृद्धि पनि हो’ उहाँले थप्नुभयो, ‘अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन। जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ। समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ। ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ।’