काठमाडौं, भदौ २६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई राजीनामा दिए महाअभियोग फिर्ता लिन गठबन्धनका नेताहरूबाट प्रलोभन दिइएको बताउनु भएको छ ।
संसदको महाअभियोग छानबिन समितिमा बयानका क्रममा आइतबार जबराले आफूपछिको न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खोल्न आफ्नो राजीनामाका लागि दबाब आएको बताउनु भयो ।
उहाँले सत्ता गठबन्धनका नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालको तर्फबाट राजीनामा दिएपछि महाअभियोग फिर्ता लिने प्रस्ताव लिएर कांग्रेस नेतृ डिना उपाध्याय आफ्नो क्वार्टरमा आएको बताउनु भयो ।
‘राजीनामा गर्ने हो भने हामीले महाभियोग फिर्ता लिइदिन्छौं । एकरडेढ महिना तपाइँ चलाउनुहोस्, त्यसपछि दीपक (कार्की) लाई दिनुहोस् भन्न शीर्ष नेता नै आएका थिए । प्रचण्ड र शेरबहादुर देउवालाई सोधेर आएको भन्दै डिना (उपाध्याय) जी मेरो क्वार्टरमै आएर भन्नुभएको हो । उहाँलाई सोध्दा हुन्छ,’ जबराले भन्नुभयो ।
सत्ता गठबन्धनले आफ्नाविरुद्ध अविश्वास र षड्यन्त्र गरेको उहाँको भनाई थियो । ‘प्रधानन्यायाधीशप्रति गठबन्धनले अविश्वास गरेकै हो ।षड्यन्त्र गरेकै हो । त्यो षड्यन्त्रमा सर्वोच्चका न्यायाधीश फसेकै हुन् । नेपाल बार एसोसिएसनलाई परिचालन गरिएकै हो,’ जवराले भन्नुभयो ।उहाँले केही वकिलले न्यायाधीशका आफ्ना मानिसलाई गरेको सिफारिस आफूले नमानेका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आफ्नाविरुद्ध उजुरी दिइएको भए पनि अब त्यो विषय सक्किसकेको बताउनु भयो ।
‘ओमप्रकाश (काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल) जी सम्पत्ति शुद्धीकरण विभागमा जानुभएको थियो । बारको तत्कालीन अध्यक्ष चण्डेश्वर (श्रेष्ठ) जीले पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन दुईचोटी सिफारिस गर्नुभएको थियो, दुबैचोटी मैले इन्कार गरेको हो । पुनदेवी महर्जन ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा नै पुगिहाल्छ,’ जबराले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्