रमेश गिरी/भक्तपुर । सूर्यविनायक नगरपालिका–१ अन्तर्गत सिरुटार–बिरुवा मूल सडक खण्डको बालकोट र सिरुटारको सिमाना पुलदेखि उपयोगी चोकसम्म ठूलाठूला पोखरी बनेपछि स्थानीयले व्यङ्ग्य गर्दै पाँच पोखरी नामकरण गरेका हुन् ।
निर्माण व्यवसायीको लापरबाही र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण अलपत्र बनेको सडक गत असार मसान्तसम्म सडकमा ढल व्यवस्थापन, पेटी, ग्रावेल, वेस कालोपत्रसहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि सडक भत्काएर नियमित काम नगर्दा स्थानीयले निकै सास्ती व्यहोुर्न परेको छ ।
वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित, भौतिक पूर्वाधार निर्देशनालय धुलिखेलद्वारा वल्र्ड वाइड, पी.आर. सुसन सेभी ललितपुरले निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कौशल्टार बिरुवा भक्तपुर सडक शीर्षकको उक्त सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो ।
मन्त्रालयले विनियोजन गरेको कूल रु पाँच करोड ५९ लाख ११ हजारको लागतमा २०७८ मङ्सिर १ गतेदेखि सुरु गरी २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि सडक निर्माणको काम अझै सम्पन्न भएको छैन ।
बालकोट–सिरुटार सिमानाको पुलमै भैँसी आहाल बस्न मिल्ने गरी गहिरो ठूलो खाडल बनेको छ । त्यसको केहीमाथि उपयोगी चोकमै सडकका बीचमा पाँचवटा ठूला खाडल बनेर पानी जमेपछि स्थानीयले निकै सास्ती खेप्नु परेको छ । निर्माण व्यवसायी सुसन महर्जन महिनामा एक पटक आएर निरीक्षण गरेर फर्कने र थोरै कामदार राखेर काम गर्दा ढिलाइ भएको स्थानीयको भनाइ छ ।
सिरुटार बालकोट हुँदै काठमाडौँ जाने अन्य विकल्पको सडक नभएपछि स्थानीय बाध्य भएर सोही सडकको प्रयोग गर्नुपर्दा दैनिक कैयाँै स्कुटर र मोटरसाइकल खाडलमा लड्ने गरेका छन् । स्थानीय भूपाल गिरीले यहाँका बासिन्दाले दैनिक यहीँ समस्या भोग्नु परेको गुनासो गर्दै खाँडल पुर्न पाँच ट्रिप ग्राबेल हालिदिन आग्रह गर्दा पनि निर्माण कम्पनीले आजभोलि भनेर टार्ने गरेको बताउनुभयो ।
राउत गाउँका हरि राउतले यहाँका जनप्रतिनिधि यहीँ सडक भएर दैनिक ओहोरदोहोर गर्दा सडकको कन्तबिजोग देख्दा पनि बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहीँ सडक भएर सांसददेखि वडाध्यक्षसम्म दैनिक हिँड्ने गर्नुहुन्छ, यहाँ मोटरसाइकल लडेको, ट्याक्सी डुबेको पनि देख्नुहुन्छ, सडकमा पोखरी नै पोखरी हुँदा पनि जनप्रतिनिधिले काम छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाब दिँदैनन्, हामी यहाँका जनताले निकै सास्ती खेप्नु परेको छ ।”
दधिकोटको बिरुवादेखि सिरुटारका उपयोगी चोकसम्मका एक हजारभन्दा बढी घरपरिवार यहीँ सडकको प्रयोग गरेर दैनिक ओहोरदोहोर गर्ने गरेको भन्दै उहाँले पैदल यात्रीदेखि साना सवारीसाधनले निकै सास्ती व्यहोर्नु परेको बताउनुभयो ।
वर्षामा हिलाम्मे र घाम लाग्दा धुलाम्मे भएर हिँड्नु पर्दा कलेजदेखि कार्यालय जाँदा र घर फर्कंदा मान्छेको रुपनै फेरिने गरी धूलो र हिलो बोक्नु परेको स्थानीयको भनाइ छ । वाग्मती प्रदेश सदस्य शशिजङ्ग थापाले दसैँ अगाडिसम्म कालोपत्र गर्न सुरु गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक मात्रै होइन, सिरुटार र दधिकोटमा गरी वाग्मती प्रदेश सरकारको २१ करोडको बजेटबाट सडक निर्माण भइरहेको छ, यो सबै ठेक्का यहीँ कम्पनीले पारेको छ, कामदार कम ल्याउने र निरन्तर काम नगर्दा ढिलाइ भएको हो, काम छिटो सक्न हामीले दबाब दिइरहेका छौँ ।”
दसैँ आउन १० दिन बाँकी छ । तर सडकमा बेस हाल्ने काम पनि सुरु भएको छैन । कालोपत्र गर्छु भनेर निर्माण व्यवसायीले जनता झुक्याउने काम गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थले सडक निर्माणमा स्थानीय प्रतिनिधिले छिटो काम सक्न दबाब दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताले हामीलाई गाली गर्छन् तर हामीले धेरै दबाब दिइरहेका छौँ, नत्र यतिसम्म पनि निर्माण सम्पन्न हुँदैनथ्यो । असार मसान्तसम्म सक्नुपर्नेमा दसैं अगाडिसम्म सक्छु भनेको छ, पानीले पनि अवरोध ग¥यो, खाल्डो पुर्न तत्कालै ग्राबेल झार्न मैले भनेको छु ।”
सडक निर्माण कम्पनी सुसन सेभी ललितपुरका फिल्ड सुपरभाइजर कृष्णप्रसाद उप्रेतीले तिहार अगाडि उक्त सडकमा कालोपत्र सम्पन्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा सीमाङ्कन गर्दा, पर्खाल लगाउँदा केही ठाउँमा स्थानीयबाटै अवरोध आयो, अझै पनि केही ठाउँमा समस्या छ, त्यसपछि निर्माण सामग्री आयात नै बन्द भयो, सामान ल्याउन नसक्दा ढिलाइ भयो, अब सामान ल्याउन थालेका छौँ, तिहार अगाडि सबै काम सक्छौँ ।”
सडकमा बनेको पोखरीमा भने यसअघि पनि पटक पटक ग्राबेल हाल्दा पनि नटिकेको र भोलीसम्ममा फेरी ग्राबेल हालेर मर्मत गरिदिने बताउनुभयो । (रासस)













प्रतिक्रिया दिनुहोस्