काठमाडौं, साउन १४
३८ क्विन्टल सुन प्रकरणमा पक्राउ परेका व्यक्तिलाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले आज फैसला सुनाउदैछ । असार १९ गतेदेखि लगातार सुनुवाई हुदै आएको मुद्दामा सोमबार दुवै पक्षको बहस सकिएको थियो ।
त्रिभुवन विमानस्थल हुँदै भित्रिएर गायब बनाइएको भनिएको ३३ किलो सुन सहित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरको आदेश चित्त नबुझेको भन्दै सर्वोच्चमा दायर रिट दायर भएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासमा सोमवार भएको सुनुवाइमा दुवैतर्फका कानून व्यवसायीहरूका तर्फबाट बहस सम्पन्न भएको हो । आज पनि सोही इजलासमा मुद्दा तोकिएको छ ।
उच्च अदालतको थुनछेकसम्बन्धी आदेश चित्त नबुझेको भन्दै आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेल सर्वोच्च आएका थिए । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका विषयमा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गरेको अनुसन्धानका आधारमा फरार ३० र पक्राउ परेका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो ।
उक्त प्रकरण जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च आइपुगेको हो । डीएसपी राउत लगायतलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले पनि सदर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्