काठमाडौं, असोज २५ । नेकपा एमालेका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमालेको जित अपरिहार्य रहेको बताउनु भएको छ ।
राजधानीमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा वरीष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सद्भाव खलबलिन नदिन राजनीतिक स्थायित्व आवश्यक पर्ने र त्यसका लागि एमालेको जित अपरिहार्य रहेको बताउनु भयो।
पोखरेलले गठबन्धनको विचार, उद्देश्य र दृष्टिकोण नभएको तथ्य पनि औल्याउनु भयो । ‘गठबन्धन जसको कुनै विचार, उद्देश्य दृष्टिकोण, गन्तव्य छैन। केवल एमालेलाई समाप्त गर्ने अपराधिक योजना छ गठबन्धनको, बिकास र समृद्धिको सपनामा पानी फेर्ने षडडयन्त्र मात्रै छ,’ पोखरेलले भन्नुभयो ।
एमाले नेतृत्वको सरकारले गरेको काम नै एमालेको बिजयको आधार रहेको भन्दै पोखरेलले मुलुकलाई बर्वादीतिर धकेल्ने गठबन्धनलाई सजाय दिने उपयुक्त अवसर मंसिर ४ भएको बताउनु भयो । पोखरेलले थप्नुभयो, ‘१४२ वटा नयाँ कानुन हामीले निर्माण गर्यौं। देशलाई पृथकतावादी आन्दोलनमा लैजाने र देश टुक्रयाउन खोज्ने तत्वलाई राष्ट्रिय मूलधारमा ल्यायौं।’ सरकारमा रहँदा विदेश सम्बन्धलाई सुदृढ बनाएको उहाँको भनाई थियो।
अब नाकाबन्दी नेपालले झेल्नु नपर्ने र यो ऐतिहासिक काम आफूहरुको पालामा भएको उहाँको भनाई थियो । ‘राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित छ। एउटा एमाले र अर्को गठबन्धनले नेतृत्व गरेको छ। एमालेले नेतृत्व गरेको यो केन्द्रले देशको नेतृत्व गर्ने छ,’ पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्