सुर्खेत, २७ असोज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्न लागेका हुन ।
दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्वसहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा छ भने एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ । आउँदो ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यी दुई पक्षबीच नै धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा एकीकृत समाजवादीको भाग परेका निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
कर्णालीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ सिट छन । जसमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका दुई क्षेत्रमा टिकट पाएको छ । त्यसबाहेक आफ्नो उम्मेदवार नभएका केही क्षेत्रमा समाजवादीले गठबन्धनसँग पनि प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिएको छ ।
एकीकृत समाजवादीले गठबन्धनबाट दैलेख, सल्यान र डोल्पामा प्रतिनिधिसभा र मुगु तथा जुम्लामा प्रदेशको एक एक सीटमा टिकट पाएको छ । तीमध्ये सबैजसोमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पूर्व सहकर्मीहरू नै छन ।
प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा सत्तारुढ गठबन्धनले एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापासँग एमालेका तर्फबाट जिल्ला पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीतिक गरेका नेताहरू हुनुहुन्छ । शर्मा र थापाको उम्मेदवारी परेपछि यसपटक त्यहाँ प्रतिस्पर्धा निकै रोचक हुने अड्कलबाजीहरू सुरु भएका छन् । यी दुवै नेताले एमालेबाट उक्त क्षेत्रमा यसअघि संसदीय निर्वाचन जितिसक्नु भएको छ ।
यसपटक भने पुरानै सम्बन्ध भएका मित्रहरू नै फरक दलबाट नयाँ प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् । एमालेको तुलनामा नेकपा एसको संगठन कमजोर भएपनि गठबन्धनका कारण थापा शर्मासँग प्रतिस्पर्धा गर्दैछन ।
एमाले र समाजवादीका स्थानीय नेताहरूका अनुसार त्यस क्षेत्रमा पूर्वसहकर्मीहरूको टक्करका कारण परिणाम कसको पोल्टामा पर्छ भन्ने अहिले नै सहज अनुमान गर्न सकिने अवस्था भने छैन । यी दुवै यस क्षेत्रमा राम्रो जनाधार भएका प्रभावशाली नेता मानिनुहुन्छ । आफूले एमालेमा रहँदा निर्माण गरेको संगठन र गठबन्धनको पनि साथ रहेकाले जित सुनिश्चित रहेको थापाको दाबी छ । शर्माले पनि एमालेको बलियो जनाधार भएकाले थापालाई सहजै जित्न सकिने बताउनु भएको छ ।
सुर्खेत–२ क मा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कँडेल र उपाध्याय लामो समय एमालेको राजनीतिका सहकर्मी हुन् । यद्यपि, २०७० को संविधानसभा निर्वाचनमा भने कँडेलविरुद्ध उपाध्यायले बागी उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिनुभएको थियो । उक्त निर्वाचनमा यी दुवैले जित हात पार्न सक्नुभएन ।
पार्टीभित्र विद्रोही नेताको छवी बनाएका उपाध्याय अन्नतः एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा लाग्नुभएको थियो । कुनै बेलाका भरसिला सहयात्री उहाँहरू अहिले फेरि चुनावी मैदानमा आमुन्नेसामुन्ने हुनुभएको छ । पुराना सहकर्मी कँडेल र उपाध्याय यसपालि दोस्रो पटक प्रतिस्पर्धीका रूपमा देखिएका हुन् ।
प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा गठबन्धनले साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका नेता धनबहादुर बुढालाई अघि सारेको छ । उक्त क्षेत्रमा पनि सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा छ । एमालेले भने ठूूलीभेरी नगरपालिकाका निवर्तमान नगरप्रमुख गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । बुढा पनि पूर्वएमाले हुन । २०७४ सालको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित उहाँले पार्टी विभाजनपछि समाजवादी रोज्नुभएको हो । त्यहाँ अहिले पूर्वएमाले र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
कर्णाली प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । हाल एकीकृत समाजवादीका उपमहासचिव ज्वाला २०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । जिल्लाबाट सिफारिशमै नपर्नु भएका ज्वालालाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएपनि एमाले बिभाजनतिर लाग्नुभयो । उहाँलाई सत्ता गठबन्धनले अहिले साझा उम्मेदवार बनाएको हो ।
ज्वालाविरुद्ध एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालसालै एमालेमा प्रवेश गर्नुभएका राजेन्द्र वीर रायलाई चुनावी मैदानमा उतारेको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष पद परित्याग गरि एक महिना अघि मात्र एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँ सल्यानी जनतामाझ लोकप्रिय नै हुनुहुन्छ ।
जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित उहाँ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो । यसपटक सत्तागठबन्धनले उहाँलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनाएको छ । एमालेबाट उक्त क्षेत्रमा प्रदेश कमिटी उपसचिव टेकराज पछाईं चुनाव लड्दै हुनुहुन्छ ।
यो क्षेत्रमा पनि एमाले र पूर्वएमालेबीच नै चुनावी रस्साकस्सी हुने भएको छ । मुगुको प्रदेशसभा ‘क’ बाट एमालेले जितबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । उहाँका प्रतिस्पर्धीका रूपमा एकीकृत समाजवादीका नेता गोपाल बम मैदानमा उत्रिनुभएको छ । पूर्वएमाले बमलाई अहिले कांग्रेस र माओवादी केन्द्रको साथ छ ।
सत्तारुढ गठबन्धनबाट टिकट नपाएका कतिपय ठाउँमा एकीकृत समाजवादीले आफ्ना छुट्टै उम्मेदवार उठाएको छ । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा ‘ख’मा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका बिन्दमान विष्टलाई उम्मेदवार बनाए पनि एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल पनि उम्मेदवार बन्नुभएको छ । उहाँले उक्त क्षेत्रमा आफूले गठबन्धनसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
बडुवालले गठबन्धनका उम्मेदवार विष्टसँग मात्र नभइ आफ्नै पूर्वसहकर्मी ताराकेशर गौतमसँग पनि प्रतिस्पर्धा गर्ने हुनुभएको छ । एमालेमा हुँदा पार्टी निर्माणमा वर्षौं सँगै काम गरेका उहाँहरू यसपटक संसदीय निर्वाचनमा फरक दलबाट प्रतिस्पर्धीका रूपमा भिड्नु भएको हो । विष्ट, गौतम र बडुवाल तीनै जना पश्चिम सुर्खेतको राजनीतिमा राम्रो सम्भावना बोकेका नेताका रूपमा चिनिनुहुन्छ ।
त्यस्तै, दैलेख–२ प्रदेशसभा ख मा पनि एमाले र पूर्वएमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा एमालेले पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाहलाई उम्मेदवार बनाएको छ भने मनोनयन दर्ता गर्ने दिनमै एमाले छोडेर माओवादी केन्द्रमा जानुभएका योगेन्द्र शाही उहाँकै प्रतिस्पर्धी बन्नुभएको छ । एमालेको केन्द्रीय अर्थ विभागका सचिव योगन्द्रलाई माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गर्दै अकस्मात टिकट दिएको हो ।













प्रतिक्रिया दिनुहोस्