सुनसरी, असोज २७ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्द नगरबासी सडकमा उत्रिएका छन । धरान वडा नम्बर ४, १३ र १४ का सर्वसाधारणले आज मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका हुन ।
मेयर राईले धरान– ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि प्रतिकारमा तीनवटा वडाका बासिन्दा उत्रिएका हुन । मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरे ।
मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोलनमा उत्रनु परेको आन्दोलनकारीको भनाई छ । धरान ४,१३ र १४ का बासिन्दाले खाँदै गरेको पानीको मुहान माथिबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।
मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए । दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिनुभएको छ ।
मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्