काठमाडौं, ३० असोज । हरेक नेपालीलाई आफ्नो देशभित्र निर्वाध आवागमन गर्ने अधिकार हुने नेपालको संविधानमा मौलिक अधिकारकारूपमा उल्लेख छ, तर नेकपा( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुरप्रसाद अधिकारीलाई आफ्नै जिल्ला गोरखामा आवागमन निषेध गर्नुभएको छ । आफ्नो जिल्ला घुम्न गएका अधिकारीलाई माओवादी कार्यकर्ताले नाङ्गेझार पारेर कुटपिट गरी काठमाडौं ल्याएर छाडिएको छ ।
‘मलाई माओवादीका कार्यकर्ताले शरीरमा लगाएको लुगा खोलेर कुटपिट गरी प्रहरीलाई जिम्मा लगाएको र प्रहरीले काठमाडौं बसन्तपुरमा ल्याए छोडिदिए’ उहाँले भन्नुभयो ‘म गोरखाको खोप्लाङ जाँदै थिए बाटोमा मलाई नाङ्गै पारेर मलाई गोरखा घुम्न नपाउने बताए ।’ माओवादी कार्यकर्ताले आफूलाई प्रहरीको जिम्मा लाएको र स्थानीय प्रहरी चौकीका इन्स्पेक्टर रुपेश ढकालले गाडीमा राखेर काठमाडौं बसन्तपुरस्थित जनसेवा प्रहरीका डिएसपी शालिग्राम शर्माको जिम्मा लगाएको उहाँ बताउनुहुन्छ ।
कुनै कसूर भए मुद्दा चलाउनु पर्नेमा आफूलाई डिएसपी शर्माले त्यतिकै छाडिदिएको उहाँले बताउनुभयो । आफूलाई आँबुखैरेनी काटेर गोरखा नआउन प्रचण्डका कार्यकर्ताले र प्रहरीलेसमेत धम्की दिएको उहाँ बताउनुहुन्छ । फरक विचारको मानिस भए पनि हरेक नेपालीलाई शान्पिूर्ण ढंगले आफ्नो विचार राख्न र आफ्नो विचारको प्रचार–प्रसार गर्ने सो विचारको आधारमा संगठन निर्माण गर्ने अधिकार हुन्छ । तर, नुरप्रसादको हकमा संविधान प्रदत्त सो अधिकार पनि खोसिएको छ ।

गोरखा जिल्ला नै स्थायी घर भएका नुरप्रसाद अधिकारी अनशन अवस्थामै मृत्यु भएका नन्दप्रसाद अधिकारी र हाल वीर अस्पतालमा अनशन अवस्थामै रहेकी गंगामाया अधिकारीका कान्छा छोरा हुन् । चितवन गएका बखत २०६१ सालमै माओवादी कार्यकर्ताले उनका दाजु कृष्णप्रसाद अधिकारीको हत्या गरेका थिए । छोराको हत्या गर्ने दोषीलाई कारवाही हुनु पर्ने माग गर्दै विभिन्न ठाउँ र निकायमा धाए पनि न्याय नपाएपछि नन्दप्रसादका पतिपत्नी काठमाडौंमा आमरण अनशन बसेका थिए । अनशनमा रहेकै अवस्थामा नन्दप्रसादको मृत्युभयो । तर, नुरप्रसाद आफ पिताको मृत्यु नभइ हत्या भएको बताउनुहुन्छ ।
आफ्नो दाजु र पिताका हत्यारालाई फाँसीको सजाय हुनु पर्ने नुरप्रसादको माग छ । उहाँ जघन्य भ्रष्ट्राचार हत्याराले फाँसीको सजाय पाउनु पर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ । मुख्यरूपमा तत्कालि माओवादीका सर्वोच्च कमाण्डर प्रचण्ड र बाबुराम भट्टराईलाई फाँसीमा नझुण्ड्याएसम्म अभियानबाट विश्राम नलिने उहाँको अठोट छ । आफू मरे गोरखामै मर्ने बाँचे गोरखा बाँच्ने गरी फेरि गोरखा जान लागेको बताउनु हुँदै नुरप्रसादले अब कमण्डलु बोकेर गोरखामा न्याय माग्दै भिक्षाटन गर्ने योजना रहेको सुनाउनुभयो ।

‘म भिक्षटन गर्दै गोरखाको गाउँघर पुग्छु । ‘न्याय नपाए गोरखा जानु’ भन्ने लोकोक्ति छ । मेरो घर परिवार सबै समाप्त पार्ने अपराधिलाई पुरस्कृत गर्नुहुन्छ की मलाई न्यायको लागि सहयोग गर्नुहुन्छ ? म सबै गोरखावासीको घरघरमा गएर सोध्छु’ उहाँले आगामी योजना सुनाउँनुभयो । ‘कि मै समाप्त हुनुपर्यो कि प्रचण्ड र बाबुरामलाई फाँसी हुनु पर्यो । यो अभियान सकिन यी दुईमा एक त हुनै पर्यो’ उहाँ दृढता व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्