जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १३:४६

देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक : मैनाली


बारा, ३१ असोज । बारा–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरको निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैको नेतृत्वको सरकार गठन हुनुपर्ने बताउनुभएको छ । निजगढमा हिजो आयोजित एमाले बारा–१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्तो बताउनुभएको हो ।

एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएको मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम गरेको आरोप लगाउँदै चालू आर्थिक वर्षको बजेट समेत उनीहरूकै निर्देशनमा तयार पारेको बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले केही कमीकमजोरीका बाबजुद एमाले देशको सबैभन्दा असल पार्टी रहेको दाबी गर्नुभयो ।

उहाँले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउनु पर्ने बताउनुभयो । कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरीलगायतले बोल्नुभएको थियो ।