सिरहा, ३१ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मिर्चैया नगरपालिका–१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उहाँकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले आज मध्याह्ननदेखि चक्काजाम गरेका हुन् ।
आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताउनुभयो ।
गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका–११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो । उहाँको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ । अघिल्लै दिन खेत रुङ्न जानुभएको गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हो ।
ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरी कै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ । पोष्टमार्टमपछि उहाँको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटना अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो ।
प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ । जीबछीले लगेकै रातिदेखि पाइपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईपले हानेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पाइपले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाइले कति हाने त्यसको गन्ती नै छैन ।’ उहाँको शरीरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम रहेको स्थानीय गंगाराम साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘१५ असोजमा शब भेटियो, पोष्टमार्टमपछि दहासंस्कार भयो । १३ दिनको काम सकिएपछि बुहारीलाई शनिबार प्रहरीले पक्राउ गरी ल्यायो, मरन्नासन अवस्थामा पुर्याएको छ ।’ इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी हरि ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडे पनि आज बिहान हुलसहित प्रहरी कार्यालय घेरा हाल्न आएको बताउनुभयो ।
उहाँले सो क्रममा भिड नियन्त्रण गर्न केही सेल आश्रुग्यास प्रहार भएको जनाउनुभयो । सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनबीच वार्ता भइरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिनुभयो । घटनाको छानबिन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्