जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार ११:५७

तीन युवाले ल्याए राइड सेयरिङ एप ‘जाउँ गुरु’ : २४ सै घण्टा पाइन्छ सेवा सुविधा


काठमाडौं, कात्तिक १ । नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रूपमा रहेको ‘राइड सेयर एप’ को भीडमा जाउँ गुरु प्रालिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘जाउँ गुरु एपको औपचारिक सुरुवात गरेको हो।

तीन नेपाली युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले उक्त एप बजारमा ल्याउनु भएको हो । प्रवासमा रहेका लिङ्देन र लिम्बु लण्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आवद्ध छन् भने अर्यालले युथ पालियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रियाकलाप युवाका सवालका विषयमा गर्दै आइरहेका छन्।

जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन सेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरू रहेका छन्।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्थारएपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरू जो कोहीले रिफर गरेवापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरूले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ।

यससँगै अब हाललाई काठमाडौंमा बसोबास गर्नेहरूलाई कोठा सर्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानीको आपूर्ती र लामो दुरीका लागि जीप भाडामा लिन सकिनेछ।

नेपालमै पहिलो पूर्ण सवारी सुविधा भएको एपले यात्रुहरूको यात्रालाई सहज त बनाउँछ नै यसमा आवद्व ‘राइडर’ हरूलाई आफ्नो सवारीबाट आय आर्जन गर्ने अवसर समेत दिनेछ।

यस एपले दैनिक यात्रालाई सहज बनाउन फरक सुविधाका साथ सार्वजनिक गर्न पाउँदा आफूहरूलाई खुसी लागेको जाउँ गुरुका अध्यक्ष रहेका इन्द्रहाङ लिङ्देनले जानकारी दिनुभयो।

अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि बिस्तार गरिने लिङ्देनको भनाइ छ। उहाँले अन्य राइड सेयरिङ एपको तुलनामा यो निकै सलभ र सुलभ भएको समेत जानकारी दिनुभयो।

प्रवासबाट नेपालमा आएर आफ्नै नेपालीहरूमाझ नै केही गरौं भन्ने उद्देश्यले नेपालीहरूको दैनिकीलाई सहज बनाउन जाउँ गुरु सुरु गरिएको जाउँ गुरुको भाइस चेयरम्यान तथा चिफ अपेटिङ अफिसर खुशी लिम्बुले बताउनु भयो।

नेपाली युवाहरूले नेपालका लागि नेपालमै बनाइएको एप भएकाले यस एप प्रयोगकर्ता र राइडरका लागि समेत एप प्रयोग गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ।