जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १२:४२

सामान्य विवाद हुँदा छोराले आमालाई जिउँदै जलाए


एजेन्सी, १४ कात्तिक । बिहारमा सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि लोक आस्थाको महान पर्व छठ पर्वको समापन भएको छ । महिलाले आफ्नो परिवारको उन्नति र छोराको सफलताका लागि यो पर्व गर्ने जनविश्वास रहेको छ । तर प्रदेशको वैशाली जिल्लामा एक छोराले आमालाई जिउँदै जलाएर हत्या गरेका छन् ।

छोराले गरे आमाको हत्या
समाचार अनुसार वैशालीको हाजीपुर सदरमुकाम अन्तर्गतको राम आशिष चोक नजिक छोराले आमाको हत्या गरेका हुन् । छोराले आमालाई जिउँदै जलाएर हत्या गरेका छन् । आगलागीमा छोरा पनि जलेका छन् । घटना आइतबार भएको हो । चकित पार्ने घटनाको जानकारी पाएर प्रहरी घटनास्थलमा पुगेर आमा छोरालाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरेको थियो । जहाँ चिकित्सकले रञ्जुदेवीलाई मृत घोषणा गरेका थिए ।

अस्पतालमा छोराको उपचार
सोही क्रममा दर्दनाक घटना गराउने छोरा रोहित कुमारलाई सदर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । मृतक रञ्जुदेवी समस्तीपुर जिल्ला मोहाद्दीनगरका मृतक शम्भु पोद्दारकी श्रीमती थिइन् । आमा छोरा रामासिश चोक नजिकै भाडाको घरमा बस्थे ।

दुवैबीच झगडा भएको बताइएको छ, त्यसपछि छोरा रोहित कुमारले आक्रोशमा आफ्नी आमा रञ्जु देवीलाई जलाएका थिए । आगोमा जलेर आमाको घटनास्थलमै मृत्यु भएको थियो । हृदयविदारक घटनाको बारेमा थाहा पाउनासाथ सम्पूर्ण क्षेत्रका मानिसहरु स्तब्ध भएका थिए ।