जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १३:५७

ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ : निरञ्जन थापा


भैरहवा, १५ कात्तिक । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाउनुभएको छ ।

थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताउनुभएको छ । उहाँले न्नुभयो, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उहाँले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताउनुभयो ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो ? भन्दै उहाँले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भटराईले अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सतारुढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको छ ।’ उहाँले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताउनुभयो ।

उहाँले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताउनुभयो । उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दावी गर्नुभयो । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गर्नुभयो ।