जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार ०९:३८

सन्दीप लामिछानेको आज थुनछेक बहस हुने


काठमाडौं, १६ कात्तिक । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज थुनछेक बहस हुने भएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज थुनछेक बहस हुने भएको हो। मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन। भदौ ६ गते उनी टी–२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।