जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १५:०३

सन्दीपको बहस सकियो, थुनछेक आदेश लेख्दै न्यायाधीश


काठमाडौं, १८ कात्तिक । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । केहीबेरअघि बहस सकिएसँगै अहिले न्यायाधीशले थुनछेक आदेशको तयारी गरेका छन् ।

आज सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गर्नुभएको थियो । सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

मंगलबार भने सन्दीपको बयान गराइएको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।