जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ११:२०

तनहुँ-१ बाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित


तनहुँ , मंसिर ८ । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गर्नुभएको हो ।

पौडेलले २५ हजार ३१८ मत ल्याउँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याउनु भएको छ । सो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याउनु भएको छ ।

पौडेल यहाँबाट ०४८ सालदेखि नै लगातार चुनाव लड्दै आउनु भएको छ । ०४८ मा तनहुँ १ बाट निर्वाचित भएका पौडेल ०५१, ०५६, ०६४ र ०७० मा समेत यहीबाट निर्वाचित हुनुभएको थियो ।

०७४ मा भने पौडेल बामगठबन्धनका कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित हुनुभएको थियो । यसपटक पुन बाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिनुभएका पौडेलले जीत निकाल्नु भएको हो ।