जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १३:१६

अध्यादेश सम्पुर्ण रुपले गलत नै हो : बिश्वप्रकाश


काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संक्रमणकालमा सरकारले अध्यादेश ल्याउनु अत्यन्तै गलत भएको अडान सार्वजनिक गर्नुभएको छ । म

हामन्त्री शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु झनै आपत्तिजनक रहेको बताउनु भएको छ ।

निर्वाचन आयोग समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गर्न लागेको र नवनिर्वाचित संसद्ले काम सुरु गर्न केही समयमा बाँकी रहँदा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नतृत्वको सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत विरोध गर्नुभएको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । महामन्त्री शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै यो समयमा अध्यादेश जारी गर्नु कानुनी र राजनैतिक प्रश्न मात्र नभई नैतिक प्रश्नपनि जोडिएको उल्लेख गर्नुभएको छ ।

महामन्त्री शर्माले सरकारको निर्णयलगत्तै आपत्ति जनाउनु भएको थियो । सो बिषयमा आज थप लेख्नुभएको छ, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति ! संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, @PM_nepal_ यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’

कांग्रेसकै अर्का महामन्त्री गगन थापा र उपसभापति धनराज गुरुङले पनि सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ । युवा नेता प्रदीप पौडेलले भने यस बिषयमा अहिलेसम्म कुनै धारणा राख्नुभएको छैन ।

देउवा सरकार ल्याउने अध्यादेशबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र रौतहटमा जिउँदै मानिस इटाभट्टामा हालेर मारेको अभियोगमा रहेका मो. अफ्ताव आलम जेलबाट छुट्न सक्छन्। सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पनि जेलबाट छुटाउन कानुनी आधार बन्नेछ ।

सरकार गठनमा नागरिक उन्मुक्ति र जनमत पार्टी निर्णायक बनेपछि सरकारले उनीहरूका शर्त मान्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो । तर, जिल्ला अदालत कैलाली र पुनरावेदन दीपायलले ०७२ सालमा भएको ‘टीकापुर घटना’ मा रेशमलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएका थिए। टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो ।