काठमाडौं, मंसिर २७ । २० वर्षदेखि यूएईस्थित जेलमा रहेका दार्चुलाका अमर बमको रिहाईको लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पहल थाल्नुभएको छ । प्रसाईंले आफूले बमको रिहाईको लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि स्पष्ट पार्नुभएको छ ।
अमर बम फर्काउ अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रसाईंले बमको रिहाइको लागि आफूले पहलकदमी थालेको बताउनु भयो । वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगेका दार्चुलाका अमर २० वर्षदेखि बिना कसुर जेलमा बस्न बाध्य भएको अभियानको गुनासो छ । अभियानले सरकारको लापरवाही र लाचारीको कारण बमको स्वदेश फिर्तीमा ढिलाई भएको पनि आरोप लगाएको छ ।
एमाले केन्द्रीय सदस्य प्रसाईंले जेलमा रहेका बमलाई फर्काउन आफुले यूएईका राजकुमारलाई पत्र पठाइसकेको उल्लेख गर्नुभयो । ‘मैले केही महिनाअघि नै यूएईका राजकुमारलाई पत्र पठाइसकेको छु,’ प्रसाईंले भन्नुभयो । उहाँले आफूले विगत केही वर्षदेखि खाडी मुलुकमा आपत विपतमा परेका नेपालीलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि विदेशमा दुःखमा परेका नेपालीलाई सहयोगका लागि तयार रहेको बताउनु भयो ।
प्रसाईंले आफूले अहिलेसम्म १७ शव नेपाल ल्याएको र दुवईस्थित् जेलमा रहेका ३७ जनाभन्दा बढि नेपालीलाई स्वदेश फर्काउन सफल भएको पनि सुनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्