काठमाडौं, मंसिर २९ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ ।
सिंगापुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालसँगको भेटमा कोरियाली श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले यस्तो जानकारी गराउनु भएको हो । ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं,’ अर्यालसँगको भेटमा उपमन्त्री जोङपिलको भनाइ थियो । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली कामदार एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन ।
उपमन्त्री जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुन सिंगापुर आउनु भएको थियो । उक्त बैठकमा नेपालको तर्फबाट श्रम सचिव अर्यालले नेतृत्व गर्नुभएको छ । सोही क्रममा दुवै मुलुकका अधिकारीबीच भेटवार्ता भएको हो ।
भेटमा उपमन्त्री जोङपिलले कोरियाले कामदार आपूर्ति गर्दै आएका १६ मुलुकमध्ये नेपालीलाई उच्च प्राथमिकता दिने गरेको पनि बताउनु भएको छ । भेटमा सचिव अर्यालले ईपीएसअन्तर्गत कोरियाको मागअनुसार कामदार पठाउन सक्ने संयन्त्र नेपालसँग रहेको जानकारी गराउनु भएको छ । कोरियाले सबैभन्दा बढी गत वर्ष ९ हजार कामदार लैजाने कोटा छुट्याएको थियो ।
ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार दक्षिण कोरिया पुगिसकेका छन । जसमा ५ हजार महिला छन । भेटमा उपमन्त्री जोङपिलले कोरिया गएकामध्ये ३ हजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको पनि मन्त्री उल्लेख गर्नुभएको छ ।
अर्यालले नेपाल र कोरियाबीच भएको श्रम सम्झौता परिमार्जन गर्न आवश्यक रहेको बताए । उक्त सम्झौतामा श्रम मामिलामा परेको अप्ठ्यारोलाई हल गर्न दुवै मुलुकबीचको प्राविधिक समितिको बैठक बस्ने व्यवस्था गरिएको छैन । पेसागत पदमा नेपाली कामदार लैजाने गरी क्षेत्रगत पहिचान गरिएको छैन ।
पेसागत पदमा लैजाने व्यवस्था नगर्दा उच्च तहमा कम्पनीले लैजाने भए पनि पठाउन समस्या देखिएको उहाँको भनाइ छ । अर्यालले कोरियामा कार्यरत नेपाली कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नसमेत उपमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्