जनता टाइम्स

१ पुष २०७९, शुक्रबार १९:१७

शान्ति मिसनमा नेपाली सेनाले बनायो नयाँ रेकर्ड


काठमाडौं, पुस १ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाली सेनाले नयाँ इतिहास रचेको छ । अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली सेनाको टोली संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएर यस्तो रेकर्ड राखेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनाको इतिहासमै पहिलो पटक ६ हजारभन्दा बढी नेपाली सेनाका जवानहरु शान्ति मिशनमा तैनाथ भएका छन । यसलाई नेपाली सेनाले एक कोषे ढुंगा भनेको छ ।

सैनिक मुख्यालयका अनुसार सेन्ट्र अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनाका लागि मंसिर २७ गते लाइ इनफेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरुको तैनाथीसँगै मिशनमा एकै पटक तैनाथ सेनाको संख्या ६ हजार १६ पुगेको हो ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपछि राष्ट्र संघको आव्हानमा सन् १९५८ मा ५ जना सैनिक पर्येवेक्षक शान्ति मिसनका लागि पहिलो पटक लेवनान पुगेका थिए। त्यसयता नेपाली सेनाको शान्ति मिशनको यात्राले ६ दशक भन्दा बढीको समय पार गरेको छ ।

सन् १९७४ मा युनिफ मिशन सिनाइ (इजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा श्री पुरानो गोरख गण सहभागी भएको थियो।
हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका १ लाख ४२ हजार ५८५ जना जवान र अधिकृतहरु शान्ति मिशनमा सहभागी भइसकेका छन ।

जसमा १९ सय ८२ जना महिला सैनिकसमेत छन । विश्व शान्ति स्थापनाको यस अभियानका क्रममा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरुले ज्यान गुमाएका छन । त्यस्तै ६८ जना घाइते भएका निर्देशनालयले जनाएको छ । अहिलेको अवस्थामा विभिन्न १२ वटा शान्ति मिशनमा नेपाली सेनाका ६ हजार १६ जना जवान र अधिकृतहरु तैनाथ छन । जसमा ४ सय २९ महिला पनि छन ।

यसैगरी राष्ट्रसंघीय शान्ति मिशनहरुमध्ये युएनडोफ मिशन सिरियामा फोर्स कमान्डर, युनिफिल मिशन लेवनानमा डेपुटी फोर्स कमान्डर, मिनुस्मा मिशन माली र युएनमिस मिशन दक्षिण सुडानमा सेक्टर कमान्डरका रुपमा नेपाली सेनाका रथीहरु कार्यरत छन । हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा रहेको छ ।