काठमाडौं, पुस ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पुनः प्रधानमन्त्री हुने संभावना सकिएको बताउनु भएको छ ।
प्रचण्डले समयमै कदम नचालेको कारण अव पुनः प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना पूरा नहुने बिश्लेषण पनि अध्यक्ष ओलीले सुनाउनु भएको छ । सत्ता गठबन्धनबाटै प्रधानमन्त्री नपाए एमालेसँग मिल्ने धम्की प्रचण्डले दिइरहेको बेला अध्यक्ष ओलीले समय घर्किसकेकोले अव प्रधानमन्त्री बन्ने संभावना सकिएको बताउनु भयो ।
‘समयमै काम गरिएन भने समयले नै सवैकुरा लिएर जान्छ, कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले ढिलो गर्नु भयो,’ नेकपा एमाले प्यूठान काठमाडौं सम्पर्क मञ्चले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्रचण्डले समयमै कदम नचालेको कारण यस्तो अवस्था आएको पनि बताउनु भयो ।
‘निर्णय गर्न ढिलो गर्नुभयो भने सवै कुरा गुम्छ । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ ।’ त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन, ती समयमै गर्नु पर्छ । समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’
अध्यक्ष ओलीले प्रचण्डले जस्तै अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिन बताउनु भयो । सत्ता गठबन्धन आफू आफूलाई हेरेर समयमा कदम नचाले मुलुक मध्यावधीमा जाने उहाँको भनाई थियो । ‘प्रचण्डले समयमा कदम चाल्नुभएन, संभावना सकियो, अरुले पनि समयमा कदम चालेनन भने, समयमा आफूआफूलाई मात्रै हेरे भने देश फेरी घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना छ, त्यतातिर देश जाँदैन भन्न सकिदैँन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत उहाँको भनाई छ । एमाले अध्यक्ष ओलीले चुनावमा एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको पनि बताउनु भयो । अध्यक्ष अहिलेका कमिटीहरू आसन ग्रहण गर्ने माध्यम मात्र बनेको र भद्दा भएको भन्दै चुस्त एवं सक्रिय कमिटीहरू बनाउनु पर्ने आवश्यकता देखिएको बताउनु भयो ।
‘ नेताको काम आसन ग्रहण गर्ने होइन, जनता र कार्यकर्ताबीच जाने तथा उनीहरूलाई सक्रिय बनाउने हो । तर अहिले हाम्रो पार्टीका कमिटी लम्बेतान भए, जनताको र पार्टीको काम गर्ने होइन, आसन ग्रहण गर्नका लागि मात्र बनाइएको जस्तो भयो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले चुनावपछि पार्टीको अवस्था पनि फेरिएको बताउनु भयो ।
‘अहिलेसम्म हामी हाम्रो विरुद्ध भएका संगठित हमलाको प्रतिवाद गर्ने,प्रतिक्रियावादीसँग मुकाबिला गरेर अस्तित्व जगाउने चरणमा थियौँ । चुनावसँगै अब हाम्रो पार्टी थिग्रिएको छ । अब पार्टी कमिटीहरूलाई चुस्त बनाउने र जनतालाई सचेत गर्दै पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्