जनता टाइम्स

११ पुष २०७९, सोमबार २०:५०

उपप्रधानमन्त्री रबि लामिछानेलाई प्रवक्ताको जिम्मेवारी


काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताउनु भएको छ ।
उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।

‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले जनतामा सरकार परिवर्तनको अनुभुति हुने गरी काम गर्ने बताउनु भयो । ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं,’ उहाँको भनाई छ ।