काठमाडौं, पुस १४ । एमाले नेतृत्वको नयाँ सत्ता गठबन्धन दलको बैठक आज बालुवाटारमा बस्दैछ। केही बेरमा बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँ प्रधानमन्त्री बनेपछि नयाँ सत्ता साझेदार दलको पहिलो बैठक बालुवाटारमा बोलाइएको हो।
बुधबार खुमलटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीबीचको छलफलले आजको बैठकका एजेण्डा तय गरेको हो। बैठकमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम र प्राथमिकता विषयमा छलफल हुनेछ।
नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। प्रचण्ड प्रधानमन्त्री बने पनि नयाँ समीकरणमा आबद्ध दलभित्र धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी छ। बालकोटको बैठकमा गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ।
प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।
प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसक्नु भएको छ । यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन । उहाँहरुको मन्त्रालय टुंगो लाग्न बाँकी छ। राप्रपा र नागरिक उन्मुक्तिपार्टीले सरकारमा सहभागी हुन फरक फरक सर्त अगाडि सारेका छन।
प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रचण्डलाई १६९ सांसदको समर्थन रहेको छ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ। केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्