जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १०:०१

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु, यस्ता छन एजेण्डा


काठमाडौं, पुस १४ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शक्ति बाडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रालयको भागबण्डा लगायतका विषयमा बैठकमा छलफल हुने छ । बैठकमा साझेदार दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ । राप्रपा, नागरिक उन्मुक्ति र जसपाले पार्टीहरूले सरकारमा सहभागी हुन विभिन्न सर्तहरू अगाडि सारेका छन् । आजको बैठकमा सत्ता साझेदार दलहरुको सर्तको बिषयमा पनि छलफल हुनेछ ।

प्रचण्ड प्रधानमन्त्री बने पनि नयाँ समीकरणमा आबद्ध दलभित्र धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी छ। बालकोटको बैठकमा गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ।

प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।

 

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसक्नु भएको छ ।

यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन । उहाँहरुको मन्त्रालय टुंगो लाग्न बाँकी छ।