जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १९:२५

गृहमन्त्री रविले गलत सूचना दिएपछि


काठमाडौं, पुस १५ । सञ्चारकर्मीकै रुपमा लामो समय काम गरी उपप्रधान एवं गृहमन्त्री बन्नुभएका रवि लामिछानेको बिश्वास गर्दा नेपाली मिडिया फस्न पुगेको छ ।

सत्ता साझेदार दलको बिहीबार विहान बालुवाटारमा बसेको बैठकको निर्णयबारे जानकारी दिने क्रममा गृहमन्त्री लामिछानेले गलत सूचना दिनुभएको हो । बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा साझा कार्यक्रम तय गर्न समिति गठन भएको सूचना गृहमन्त्री रवि लामिछानेले दिनुभयो ।

बैठकपश्चात गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकारको साझा कार्यक्रम समिति गठन भएको जानकारी दिनुभएको थियो । गृहमन्त्रीले दिएको सो सूचना सञ्चारमाध्यममा आयो । तर सो सूचना झुटो रहेको पाइयो । बिहीबार बेलुका नै यसबारे एमालेले आधिकारिक सूचना दियो । एमाले महासचिव शंकर पोखरेलले समितिको संयोजकमा ओली नभई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेको जानकारी दिनुभयो ।

एमाले महासचिव पोखरेलले लेख्नुभएको छ, ’पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ। यसबाट नयाँ सरकारको काम जनअपेक्षाअनुरुप अघि बढाउन सहयोग पुग्ने नै छ।’

महासचिव पोखरेलको जानकारीपछि गृहमन्त्रीले नै गलत सूचना दिएको पुष्टि भएको हो ।