जनता टाइम्स

१६ पुष २०७९, शनिबार २०:३९

उपप्रधानमन्त्री नारायणकाजी बास्तविक सुकुम्वासी !


काठमाडौं, पुस १६ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू बास्तविक सुकुम्वासी रहेको बताउनु भएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको बताएर उहाँले आफू बास्तविक सुकुम्वासी रहेको तथ्य खोल्नुभएको हो ।

‘राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,’ श्रेष्ठले भन्नुभयो, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु।’ शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनु भयो ।

आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो । आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उहाँको भनाई छ । ‘तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईंहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो, उहाँले भन्नुभयो, ‘ऐन, नियमविपरीत तपाईंहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।’