जनता टाइम्स

१९ पुष २०७९, मंगलवार ०८:५०

पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड


काठमाडौं, १९ पुस ।विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए ।उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । साथै उनले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरे ।

पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।