काठमाडौं, पुस २० । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ । तयारी नपुगेको भन्दै पुष २२ गते बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको हो ।
सभापति शेरबहादुर देउवाले बैठकमा उठनसक्ने प्रश्नको जवाफ दिन सक्ने अवस्था नभएको कारण पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस २८ गतेसम्मका लागि सारिएको हो । केन्द्रीय समिति बैठकमा मूलरुपमा मंसिर ४ गते सम्पन्न निर्वाचन र सत्ता गुमाउनुको कारणबारे केन्द्रित हुने बताइएको छ ।
सभापति देउवाले व्यक्तिगत हठ राख्दा गठबन्धन भाँडिएको र कांग्रेसलाई शुन्य अवस्थामा पुर्याएको भन्दै नेतृत्वको आत्मसमीक्षासहित नीति र विषेश महाधिवेशन बोलाउनु पर्ने आवाज उठेपछि देउवाले बैठक सहज रुपमा अगाडि जान नसक्ने निश्कर्षसहित सार्न लगाएको इतर नेताको भनाई छ ।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । कांग्रेस सत्ता र शक्तिबाट बिमूख भएपछि संस्थापन र इतरसमूहबीच चर्को विवाद छ । सरकार गठनबारे अन्तिमसम्म पनि पार्टीका पदाधिकारीसँग छलफल नगरी सभापति देउवाले प्रधानमन्त्री नछाड्ने अडान लिँदा पार्टीले सर्वश्व गुमाउन परेको भन्दै महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मासहित डा. शेखर कोइराला समूहले तत्काल नीति महाधिवेशनको माग गरेको छ ।
पार्टी विधानमा ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएपछि त्यसलाई संस्थापन समूहले टार्दै आएको छ । उपसभापति पूर्णबहादुर खड्का नीति, अनुसन्धान तथा प्रतिष्ठानको प्रमुख तोकिएपछि निर्वाचन लगायतका कारण देखाएर समितिलाई समेत पूर्ण बनाइएको छैन । विधानमै उपसभापति उक्त पदको प्रमुख हुने व्यवस्था भएकाले सभापति देउवाले उक्त पदमा खड्कालाई मनोनित गर्नुभएको थियो । खड्काको नेतृत्वमा नीति, अनुसन्धान तथा प्रतिष्ठान बनेको पनि एक वर्ष हुन लागेको छ ।
इतरसमूहले नीति महाधिवेशनको माग गरेपछि आफु उपस्थित हुँदा बैठकलाई सहज बनाउने वतावरण मिलाउन देउवाले बैठक सार्न लगाएको एक नेताले बताए । प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र यतिबेला गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको छ ।













प्रतिक्रिया दिनुहोस्