जनता टाइम्स

२५ पुष २०७९, सोमबार १०:१६

नदी पारि सहर, वारि गाउँ


त्रिशूली, २५ पुस । नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ ।

जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को गाउँलाई सदरमुकामको बजारसँग जोड्न निर्माण थालिएको पक्की पुलको काम लक्ष्यभन्दा तीव्र बनाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुल योजना मध्यक्षेत्र सेक्टर नं २ ललितपुरमार्फत निर्माण भइरहेको पक्की पुलको लक्ष्यभन्दा आधा समयअगावै सम्पन्न गर्ने गरेर निर्माणको काम भइरहेको निर्माण व्यवसायी जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवालले जानकारी दिनुभयो । उहाँको अनुसार तीन पिल्लरसहित दुई स्पानमा निर्माण गरिने पुलको हालसम्म दुई पिल्लरसहित एक स्पानको काम सम्पन्न भइसकेको छ । बाँकी एक स्पान र एक पिल्लरको काम अघि बढाउन सुरु भइसकेको छ ।

रु नौ करोड ५६ लाख लागतमा गत वैशाखदेखि काम सुरु भएको पुलको नौ महिनाको अवधिमा ६० प्रतिशत पूरा भएको छ । अर्को वर्ष विसं २०८० माघसम्ममा निर्माण सक्नुपर्ने भए पनि आगामी बर्खाअगावै सम्पन्न गर्ने लक्ष्यको साथ काम तीव्र बनाइएको हो । “पुल निर्माणमा ६० भन्दा बढी प्राविधिकसहितको जनशक्ति खटाइएको छ ।” निर्माण व्यवसायी सिलवालले भन्नुभयो, “आवश्यकताअनुसार निर्माण सामग्री र उपकरण व्यवस्थापनले पुलको निर्माणलाई निर्धारित लक्ष्यभन्दा आधा समय अगाडि सक्नेछौँ ।”

दायाँबायाँ पैदलयात्रु हिँड्नसमेत पुग्ने गरेर ११ मिटर चौडाइ र एकसय मिटर लम्बाइको पक्की पुल निर्माणले यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम, बजार, अस्पताल, उच्च शिक्षा अध्ययनलगायतमा जोडिन प्रत्यक्ष लाभ पुग्नेछ ।

विदुर–१२ गौरीवेशीबाट विदुर–४ सिमचउर जोड्ने पुल बनेपछि साविक चारघरे गाविस हाल विदुर नगरपालिका वडा नं १२ को बासिन्दालाई जिल्ला सदरमुकामसँग यातायातको दूरी सहज, बाह्रै महिना चल्ने र निकै छोटो हुने स्थानीय शिक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।

अहिले यहाँका बासिन्दा अन्यत्र आउजाउको लागि त्रिशूली नदी पार गर्न विदुर–६ अथवा विदुर–८ हुँदै जानुपर्ने बाध्यता छ । गाउँमा उत्पादित कृषिउपज, दूधजन्य पदार्थ, कक्षा ११ अध्ययन र त्रिशूली अस्पतालसहित बजारमा पुग्न अहिले अर्को वडा भएर घुमेर जानुपर्नेमा अब यसले ल्याउने परिवर्तन ठूलो छलाङ हुने उहाँको भनाइ छ ।

“वडामा हालसम्म कक्षा ११ अध्यापन गराउने एउटै विद्यालय छैन । सँगै जोडिएका वडा ९त्रिशूली नादी पारी० पुग्दा सदरमुकामको बजार पुगिन्छ । अहिलेसम्म पक्की पुलविहीन भएको चारघरे ९विदुर–१२०लाई गोरीबेँसी–सिमचउर पुल निर्माणले विकासको परिवर्तनमा लागि कोसेढुङ्गाना बन्दछ ।” शिक्षक ढुङ्गानाले भन्नुभयो ।

साठी वर्षअघिको सडक अहिले उस्तै

त्रिशूली जलविद्युत् केन्द्रको सहायक योजनाअन्तर्गत देवीघाट जलविद्युत् केन्द्र निर्माण गर्न साविक चारघरे, हाल विदुर नपा–१२ मा विसं २०१८ मा सडक पुगेको थियो । यही सडकबाट निर्माण सामग्री ढुवानी गरेर विसं २०२१ मा देवीघाट जलविद्युत् केन्द्रको उत्पादन सुरु भएको हो । त्यसपश्चात हालसम्म उक्त सडकको अवस्था उस्तै रहेको वडाध्यक्ष उपिन्द्र खड्काले बताउनुभयो । जिल्लाको पासाङल्यामु हाल गल्छी–रसुवागढी योजनाअन्तर्गतको सडक खण्डको त्रिशूली पारी वैकल्पिक मार्गका रुपमा यस सडक ९२०१८ मा विस्तारित सडक० लाई प्रयोग गर्नसक्ने भए पनि निर्माणको ६० वर्षसम्म स्तरोन्नतिसमेत नहुँदा जीर्ण भएर सवारी साधन सञ्चालनमा गर्न नै समस्या छ ।

“यहाँ ९नुवाकोट०को तारकेश्वर गाउँपालिकादेखि विदुर–१२ हुदै किस्पाङ गाउँपालिबाट रसुवासम्मको यात्रा तय गर्न सकिने यस सडक वडाको मुख्य मेरुदण्ड भए पनि बजेट अभावले त्रिशूलीपारीलाई सहर–बजार भनेर वारीतर्फ हामी ९विदुर–१२ वडावासी० ‘गाउँले’ बनेर बस्नुपर्दछ ।” उहाँको भनाइ छ ।

निर्माणाधीन मध्यपहाडी राजमार्गको परिवर्तित डिजाइनअनुसार यही वडा हुँदै लैजान सर्वेक्षण सम्पन्नपश्चात् ठेक्कासमेत लगाएको एक वर्ष भइसकेको छ । हालसम्म उक्त योजनाको समेत यहाँ काम सुरु नहुँदा अहिले निर्माणाधीन यहीँ गौरीबेँसी–सिमचउर पक्की पुल निर्माणको गतिले परिवर्तनको प्रतीक्षामा यहाँका वडावासी उत्साहित देखिन्छन् ।