जनता टाइम्स

२६ पुष २०७९, मंगलवार १८:४३

माओवादीकै भोटले जितेका चित्रबहादुरले दिएनन प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत


काठमाडौं, पुस २६ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मत पाएर प्रतिनिधिसभामा निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको बिपक्षमा उभिनुभएको छ ।

अध्यक्ष केसी आज भएको मतदानमा बिपक्षमा मत हाल्नुभएको हो । मतदानमा प्रधानमन्त्रीमाथि बिश्वास छ भन्ने पक्षमा २६८ जना सांसद उभिए भने बिपक्षमा केसी रु नेमकिपाका प्रेम सुवाल मात्रै उभिनुभयो । २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका एक जना सांसद निलम्बित छन भने ४ जना अनुपस्थित भएका थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा केसी तात्कालिन सत्ता गठबन्धनबाट चुनाव लडनुभएको थियो । सो गठबन्धनमा रहेका पाँच दलमध्ये एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई केसीले मात्रै मत नदिनुभएको हो ।

सरकारको बिपक्षमा मतदान गर्ने मात्रै नभएर केसीले भएभरका सांसदहरूले सरकारलाई समर्थन गरेर विचित्र चरित्र देखाएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय जनमोर्चा प्रतिपक्षमै बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भन्दै बिपक्षमा मतदान गर्नुभयो ।

‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ। त्यसले जे मन लाग्यो त्यही गर्छ,’ केसीले भन्नुभयो, ‘सबै सरकारमा सामेल भएर विगतमा भएका आफ्ना गल्ती ढाक्ने र त्यहीँभित्र लडेर एउटालाई पन्छाएर सरकारमा आउने त होइन ? यसो गरेर सरकार चल्छ ? देश बन्छ?’