जनता टाइम्स

२८ पुष २०७९, बिहीबार २०:२४

अख्तियारका पूर्वआयुक्त पाठक र घुस दिने न्यौपाने भ्रष्टाचारको मुद्दामा दोषी ठहर


काठमाडौं, २८ पुस । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र उनलाई घुस दिने लम्बोदर न्यौपानेलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पाठक र न्यौपानेलाई दोषी ठहर गर्दै ३९ लाख रुपैयाँ जरिबाना र तीन वर्ष तीन महिनाका दरले कैद सजायको फैसला सुनाएको हो ।

घुस लिएको भिडियो र अडियो बाहिरिएपछि २०७५ सालमा अख्तियारले आफ्नै आयुक्त पाठक र उनलाई घुस दिने न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी जग्गाको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमाबारे अख्तियारले अनुसन्धान गरिरहेको बेलामा आयुक्त राजनारायण पाठकले फाइल बन्द गरिदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएका थिए । तर फाइल बन्द नभएपछि घुस दिएका लम्बोदर न्यौपानेले घुस दिएको अडियो र भिडियो सार्वजनिक गरेका थिए ।