म्याग्दी, २९ पुस । खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे । परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् ।
गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आउनुभएको थियो । आर्थिक अभावमा गुज्रिँदै आउनुभएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।
वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनुभएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उहाँलाई राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उहाँ बताउनुहुन्छ ।
“एकै वर्षमा खर कुहिन्छ”, उहाँले भन्नुभयो, “अब त छानो फेर्न नपर्ला कि रु”
खरको समस्या हुँदा कति समय आफूले पानी चुहिने अवस्था हुँदासम्म पनि छानो फेर्न नसकेको नियति अब भोग्नु नपर्ने भएपछि स्थानीय उत्साहित छन् । वडा नं ५ का तिलकुमार विक पनि गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि हर्षित हुनुहुन्छ । पुरानो घरमा खरले छाएर बस्दै आउनुभएका सुनार अहिले जस्तापाताले छाएपछि नयाँजस्तै बनेको छ । विकले खरको घर जोखिम र झन्झटिलो भएको भन्दै गाउँपालिकाले जस्तापाता हालीदिएपछि आफूलाई अब सहज हुने बताउनुहुन्छ ।
“अहिले त घर पनि राम्रो भयो, खरको घर समय–समयमा छानो फेरि राख्नुपर्छ, जसले खर्च बढ्ने, झन्झट हुने गथ्र्यो, जस्तापाता हालेपछि त धेरै वर्ष हुन्छ, म त निकै समस्यामा थिएँ, गाउँपालिकाले टिनको छानो हाल्दिएपछि निकै खुसी लागेको छ”, सुनारले भन्नुभयो, “अब त ढुक्क भइयो, कयौँ वर्ष छानो फेर्न पर्दैन, आगलागी हुने डर पनि कम भयो, पहिले आगो लागेर सबै जलेको थियो, त्यसबेला त मेरो उठिबास नै लाग्यो, सबैले सहयोग गरेर अहिले यो अवस्थामा छु ।”
निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । अघिल्ला वर्षहरूमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको भन्दै यस वर्ष पनि बाँकी रहेका खरका खर विस्थापित गरी जस्तापाता हाल्ने उहाँको भनाइ छ ।
उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको भन्दै पूर्णरूपमा खरको घर विस्थापित गर्नसम्म यो कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो । गाउँपालिकाले सातवटा वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जना गरी एक सय तीन जनाको अघिल्लोपटक घर जस्तापाताले छाइएको र यस वर्ष गाउँपालिकाको ३० लाखले दुई दर्जन बढी खरका घरमा जस्तापाताको छानो हाल्ने गौतमले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसले गर्दा गाउँपालिकाले नै जस्तापाताको छानो हाल्दिन थालेको हो, अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि बाँकी खरका घरमा जस्तापाता हाल्ने हाम्रो योजना छ, अब केही समयमा त्यसको काम सुरु हुन्छ ।”
हरेक वडा कार्यलयबाट सिफारिस भएर आएका गरिब परिवारको घर जस्तापाताले छाइदिने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने बताउनुभयो ।
खरको छाना भएको घर आगलागीको जोखिममा हुने र गाउँ घरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उहाँको भनाइ छ । पछिल्लो समय गाउँमा बालबालिका र वृद्धवृद्धामात्रै हुन थालेपछि छानोमा खर फेर्न समस्या भइरहेको हुँदा उनीहरुलाई थोरै भए पनि राहत दिनका लागि गाउँपालिकाले घरको छानो विस्थापित अभियान सुरु गरेको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्