जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार २१:२१

अर्थमन्त्री पौडेल भन्नुभयो – उद्योगी, व्यवसायीलाई निराश हुन दिन्नँ


काठमाडौं, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकारात्मकरूपमा लिएको पनि बताउनुभयो । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नै यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरूले उठाएका विषयहरूमा छलफल गर्छु । व्यवसायीले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिनेछ । व्यवसायीहरूलाई निराश हुन नदिने गरी कोसिस गर्छु ।’