जनता टाइम्स

३० पुष २०७९, शनिबार १४:४७

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर


काठमाडौं, ३० पुस । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । नयाँ बानेश्वरमा आज आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरित हुने बताउनुभयो ।

‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिव सात लाख मत कम पाएका छौं,’ उहाँले भन्नुभयो । जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उहाँ बताउँनुहुन्छ ।

‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यो । यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो । हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था अपडेट नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं,’ उहाँले थप्नुभयो । ‘१० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद् भएको उहाँको तर्क छ ।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उहाँको प्रस्टोक्ति छ। ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ । यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन् । यो १० वर्षमा दुई वर्षमै डेढ दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महरले भन्नुभयो ।