काठमाडौं, माघ १ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनु भएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा लाग्नुभएको थियो । त्यसकै निम्ति उहाँ बैठकको मिति तय गर्न काठमाडौं आउनु भएको थियो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १÷२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यति एयरलायन्सको जहाजमा पोखरा फर्किनु भएको थियो ।
जहाजमा सवार सवैको मृत्यु भएको छ । जसमध्ये पौडेलको पनि शव शनाखत भएको छ । पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभयो ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्थ्यो । पौडेलले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर काम गर्नुभएको थियो ।
२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष हुनुभएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गर्नुभएको थियो । पत्रकार पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा समेत काम गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्