जनता टाइम्स

५ माघ २०७९, बिहीबार ०७:३६

आर्टिक सर्कल आबुधाबी फोरममा धुलिखेल नगरपालिकाको सहभागिता


काभ्रे, ५ पुस । वातानुकूलन विश्व निर्माणमा अर्ककटिक सर्कल र २०२३ आबुधावी दिगोविकाश सप्ताहमा विश्व समुदायको ध्यान आकर्षण गर्न हिन्दुकुश क्षेत्रको वातावरण र मौसमी परिवर्तनलाई स्थानीयकरण गरि धुलिखेल नगरले खेलेको भुमिकाको विषयमा निवर्तमान नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जुले आफ्नो प्रस्तुती दिनुभएको छ ।

प्रस्तुतीमा विश्वमा देखा परिरहेका तथा भविष्यमा पर्न सक्ने वातावरणीय प्रतिकूल प्रभावका बारेमा विभिन्न सम्बन्धित सरोकारवाला निकायका विचारहरू साझा गर्न मद्दत पुग्ने उहाँले बताउनु भयो । व्याञ्जुले प्रतिकूल वातावरणीय प्रभावका कारण नेपालमा समेत तापक्रम घटबढ, अनियमित वर्षा, कृषिमा नकारात्मक असर लगायतका धेरै समस्याहरूको सामना गरिरहेको र यो समस्या लगभग विश्वभर नै देखिएको अवस्था र यसलाई न्यूनीकरण गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

नगरप्रमुख व्याञ्जुले धुलिखेलको सन्दर्भमा नगरले वातावरण सफा र हरियाली राख्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । व्याञ्जुले धुलिखेल नगरलाई हरियाली बनाउन, ढलको उचित व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, खानेपानी सुरक्षालगायतको कार्यलाई नगरले विशेष प्राथमिकतामा राखेकोे बताउनु भयो । कार्यक्रममा बोल्दै व्याञ्जुले समुदायमा आधारित खानेपानी आपूर्ति परियोजना, नगरमा वृक्षारोपण अभियान सञ्चालन गर्दै यो वर्षमा करिब एक लाख बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।


व्याञ्जुले धुलिखेलले सन् २०३० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने प्रतिबद्धता समेत जनाइसकेको बताउनुभयो । गाडीको पेट्रोल इन्धन खपतलाई न्यूनीकरण गर्न र सवारी साधनबाट हुने धुवाँको उत्सर्जनलाई न्यूनीकरण गर्न धुलिखेलले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हाइड्रोजन इन्धनमा आधारित सवारी साधनको परियोजना सञ्चालन गरेको र नेपाल सरकारले इन्धनबाट चल्ने सवारी साधनलाई निरुत्साहित गर्दै विद्युतीय सवारी साधनलाई प्राथमिकता दिई अगाडि बढेको जानकारी गराउनु भयो ।