जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १९:१६

खाद्यान्न उत्पादन न्यून हुँदा आयातकै भर


सुर्खेत, १७ माघ । सुर्खेतका ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेको पाइएको छ । २०७८ को जनगणना अनुसार अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर रहेको पाइएको छ । भारी मात्रामा गरिएको मेहनतबाट उत्पादन भएको अन्नले ४ महिना खाना नपुग्ने अवस्था रहेको छ । छायानाथ रारा नगरपालिका–५ का हरिबहादु बुढाले बाली लगाए पनि वर्षको एक पटकमात्र उत्पादन हुन्छ ।

एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन । बारीको उत्पादनले चाररपाँच महिनासम्म खाना पुग्ने भएकाले परिवार पाल्नका समस्य हुने बताउनुभयो । सात महिनासम्म बजारको चामल खरिद गरेर खानुपर्ने बाध्यता रहेको बुढाले बताउनुभयो । पर्याप्त पौष्टिक आहारको कमी कारण ३० वर्षकै कलिलो उमेरमा अधिकांश युवाका मुहारमा चाउरीपन देखिने गरेको पाइन्छ ।

मुगु मानव विकासको सूचकाङ्कअनुसार जिल्लाको औसत आयु ४८ वर्ष पर्छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १६ हजार १६५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। हाल कृषकले ११ हजार ४६१ हेक्टर जमिनमा खेती गरिरहेका छन् । जसमा छ हजार ८७६ हेक्टर जमिनमा सिँचाइ उपलब्ध छ ।

प्रमुख बाली कोदो चार हजार ४८० हेक्टर जमिनमा उत्पादन हुन्छ। धान चार हजार २७७ हेक्टर, गहुँ एक हजार ८५० हेक्टर, मकै एक हजार २२२ हेक्टरमा लगाउने गरिन्छ । धान तीन हजार ८८३ मेट्रिक टन, कोदो दुई हजार ६२२ मेट्रिक टन, मकै एक हजार ८५२ मेट्रिक टन, गहुँ एक हजार ४२५ मेट्रिक टन, जौ ७३७ मेट्रिक टन र फापर २२८ मेट्रिक टन उत्पादन हुन्छ ।

उद्योग वाणिज्य संघका अनुसार हरेक वर्ष गमगढी बजारबाट छ/सात हजार क्विन्टल चामल खरिद बिक्री हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढी मुगुको आर्थिक वर्ष २०७७/७८ मा आठ हजार १४६ क्विन्टल र आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ३२२ क्विन्टल चामल बिक्री भएको छ ।