काठमाडौं, माघ २१ । नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असहयोगसँगै निर्वाचन आयोग पार्टीबिरुद्ध ज्यान छाडेर लागेको कारण चुनावमा राम्रो परिणाम नआएको निश्कर्ष निकालेको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले यस्तो निश्कर्षसहितको प्रतिवेदन पेश गर्नुभएको हो ।
‘‘खासगरी नेपाली कांग्रेस र माओवादी केन्द्रबाट भने धेरै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवारहरूलाई पूर्ण सहयोग भएन । उक्त दुवै पार्टीले गठबन्धनबाट हाम्रो पार्टीलाई छुट्याइएका केही क्षेत्रमा पार्टीको टिकटमा नै उम्मेदवार उठाएका थिए भने धेरै क्षेत्रमा तिनै पार्टीबाट बागी उमेदवार खडा भएका थिए र कतिपय क्षेत्रमा हाम्रो प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मत दिने काम समेत भएको थियो,’ प्रतिवेदनमा भनिएको छ ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत राजीनिति प्रतिवेदनमा वाम–लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा भएपनि माथि उल्लेखति कारण त्यस्तो हुन नसकेको उल्लेख छ । प्रतिवेदनमा चुनावी नतिजा अपेक्षित नहुनुको प्रमुख कारणमा आन्तरिक कारण प्रमुख देखाइएको छ ।
पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशा, पार्टीको विकास नीतिलगायत विषयमा प्रशिक्षण दिने, प्रचारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउने, पार्टी र जनसङ्गठनका हरेक कमिटीले निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने, विभिन्न प्रकारका जनजागरण अभियान सञ्चालन गर्ने र सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा जुट्ने कार्ययोजना बनाइए पनि कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन नसकी राष्ट्रिय पार्टी बन्नबाटै बञ्चित भएको छ । यसो हुनुमा आन्तरिक कारण प्रमुख मानिएको छ ।
प्रतिवेदनमा संगठित जनशक्तिसमेत चुनावमा परिचालन नभएको उल्लेख छ । ‘पार्टी र विभिन्न जनसंगठनका कमिटीहरूमा संगठित १६६४२६ जना र विभिन्न जनसङ्गठन, पेशागत सङ्गठन, सामुदायिक सङ्गठन र प्रवासी सङ्गठनमा समेत सङ्गठित जन शक्ति सानो थिएन तर त्यो परिचालित भएन,’ प्रतिवेदनमा भनिएको छ ।
अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू सबै एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशन गरिएकोमा उनीहरू पनि चुनावी अभियानमा नगएको आरोप लगाइएको छ ।













प्रतिक्रिया दिनुहोस्