गुल्मी, २७ माघ । गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको रुपमा बिना तलब एम्बुलेन्स चलाउन थाल्नुभएको हो ।
लामो समयसम्म वैदेशिक रोजगारीमा रहनुभएका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहनुभएको हो । चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उहाँले जानकारी दिनुभयो । सोही सेवाभावका कारण गत स्थनीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाउनुभयो ।
निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिनुभयो । पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ । त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाउनुभएको छ । वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उहाँले बताउनुभयो ।
‘समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ,! वडासदस्य थापाले भन्नुभयो,‘स्वास्थ्य संवेदनशील कुरा हो, नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।’ उहाँले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवासुविधा लिएर काम गरिरहनुभएको छ । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताउनुभयो । उहाँको कामलाई वडावासी सबैले प्रशंसा गरिहहेका छन् ।













प्रतिक्रिया दिनुहोस्