काठमाडौं, ४ फागुन । यसवर्षको महाशिवरात्रीमा बागमतीमा स्वच्छ पानीको बहाव बढाइने भएको छ । गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदिको बहाव बढाइने भएको हो । उक्त धाप ड्यामको बिहीबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ ।
उक्त ड्याम सुन्दरीजलबाट १८ किमि टाढा रहेको छ । सो उद्घाटन भएसँगै अब बागमती नदी सफा र स्वच्छ हुने र जस कारण पशुपतिनाथसँग बागमती नदी किनारमा रहेका तीर्थस्थलमा भक्तजनहरुलाई स्नानको सहजता हुने अपेक्षा गरिएको छ । धाप ड्यामको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको बताउनुभयो । उहाँले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिनु हुँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताउनुभयो ।
\जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने बताउँदै उहाँले महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको आज कार्य प्रारम्भ गरिनु सुखद भएको बताउनुभयो । शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउन निर्देशन दिनुभयो ।
धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले बताउनुभयो । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धब तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं–३ का सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख, सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नोड लगायतले ड्याम निर्माण, यसका चुनौती र अवसरका विविध पक्षबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्