दोलखा, फागुन ७ । दोलाखाको शैलुङ गाउँपालिका–८ स्थित झोर गाउँका बासिन्दाहरु पाहुनाहरूलाई कोसेली पठाउनका लागि आफ्नो घरमा गुन्द्रुक बनाउँछन । पाहुनालाई आफ्नो घरमा बनेको काउलीको पातको गुन्द्रुक उपहार पठाउँछन ।
झोर गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिपेश श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठले गुन्द्रुकको बिक्री वितरण सुरु भइनसकेकोले घरमा खाने र काठमाडौं तथा पोखरातिर उपहारका रूपमा पठाउने गरिएको बताउनु भयो ।
झण्डै ६५ घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारका रूपमा आफन्तलाई पठाउन र कहिलेकाही घरमा आफैं खान भनेर ८/१० केजीसम्म बनाएर राख्ने गरेका छन । गुन्द्रुकको व्यावसायिक उत्पादन भने सुरु भइनसकेको श्रेष्ठले बताउनु भयो ।
झोर गाउँका किसानहरूले वार्षिक एक करोडसम्मको काउली र आलु बिक्री वितरण गर्दै आएका छन । झोर गाउँ पुगेकी अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकार भवानी खडकाका अनुसार आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४/५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।
काउली बिक्री गर्दा ठूला पातहरू छाट्नुपर्ने भएकाले त्यसको उपयोगिताका लागि गुन्द्रुक बनाउने गरिएको श्रेष्ठको भनाइ छ । यावसायिक गुन्द्रुक खेती सुरु भएको झोर गाउँले मनग्य आम्दानी गर्न सक्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्