जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १०:५४

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ गर्दै सर्वोच्च, यस्ता छन बिकल्प


काठमाडौं, फागुन १४ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर परेको पुनरावेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै छ । जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सर्वाेच्चमा आज सुनुवाइ हुन लागेको हो।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ । सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ । सन्दीपले भने आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिनुएको थियो । उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग २ अन्तर्गत यूएईमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।

धरौटीमा छुटेयता सन्दिपले नेपाली टोलीबाट पुनरागमन गर्दै विश्वकप लिग–२ कै त्रिदेशीय शृङ्खलामा शानदार प्रदर्शन गर्नुभएको थियो । उक्त शृङ्खलामा सन्दिपको खातामा सर्वाधिक १३ विकेट रहेको छ ।
सन्दीपले अन्तरकालीन आदेश माग गर्दै दिएको पुनरावेदनमा शुक्रवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको थियो।

आदेश ढिलो आए यूएई शृङ्खलामा खेल्न नपाउने र नेपाललाई घाटा हुन सक्ने तर्क गरिएपनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरकालीन आदेश दिन मान्नुभएन तर अग्राधिकारसहित आइतबारकै लागि सुनुवाइको पेशी तोकी दिनुभयो ।

संयुक्त इजलासले आज दुवै निवेदनको एकमुस्ट सुनुवाइ गर्ने छ। सर्वोच्चले सम्भावित तीनवटा आदेश गर्न सक्ने छ । उच्च अदालत पाटनकै आदेश सदर गर्ने, सन्दीपको माग बमोजिम आदेश गर्ने वा महान्यायाधिवक्ता कार्यालयको माग बमोजिम आदेश गर्नेमध्ये एउटा आदेश हुने छ ।