काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय राप्रपाले गरेको हो ।
आज बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ श्रेष्ठले भन्नुभयो ।
राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि उक्त निर्णय आएको हो । राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । राजतन्त्रको वकालत गर्दै चुनावमा गएको राप्रपाले राष्ट्रपति चुनावमा मत नहाल्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्