जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १६:३५

मेयर साम्पाङका स्वकीय सचिवद्वारा २० वटै वडा कार्यालयलाई सर्कुलर, उपमेयर नै असन्तुष्ट


विराटनगर, १ चैत । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले विधिविपरीत सर्कुलर जारी गर्नुभएको छ । धरान उप–महानगरका सबै वडाहरूलाई चलानी नम्बर ७६७६ राखेर सबै वडा कार्यालयमा पत्र पठाउँदै आर्थिक वर्ष २०७९/८० मा सञ्चालित योजनको सूची पठाउन निर्देशन दिनुभएको हो ।

उहाँले स्वकीय सचिवको हैसियतमा फागुन २९ गते सबै वडा कार्यालयमा पत्र पठाउनुभएको हो । लिम्बूले पठाएको पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष ७९/८० मा सञ्चालित सामाजिक, आर्थिक तथा भौतिक योजनाअन्तर्गत यस वडाले हालसम्म सम्पन्न गरेका योजना तथा कार्यक्रमहरूको सुची बनाई उपलब्ध गरिदिनु हुन अनुरोध गरिन्छ ।’

नगर प्रमुखका स्वकीयले निर्देशनसहित पत्र पठाएकोमा वडा अध्यक्षहरूले असन्तुष्टि जनाएका छन् । धरान उप–महानगर वडा नम्बर १४ का अध्यक्ष कृष्ण भट्टराईले स्वकीयले निर्देशन दिने चलन नयाँ भएको बताउनुभयो । हामीलाई प्रमुख प्रशासकीयमार्फत सूचना र जानकारी माग हुने गरेको थियो अब स्वकीयमार्फत आउन थाल्यो ।

स्वकीय सचिवको हैसियतमा लिम्बूले वडा कार्यालय पत्र पठाएकोमा धरानका उपमेयर इन्द्र विक्रम बेघाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मेयर सावको अनुरोधअनुसार सूचना उपलब्ध गराइदिनु सम्म भन्न सक्नु हुन्छ तर उहाँले पत्र नै पठाएर सर्कुलर जारी गर्न सर्कुलर जारी गर्न पर्ने कारण थिएन ।’